नेपाल हक्की संघको आयोजनामा राष्ट्रिय स्तरको पुरुष तथा महिला हक्की प्रतियोगिता ललितपुरस्थित च्यासल फुटबल मैदानमा यही बैशाख १७ गतेदेखि सुरु हुने भएको छ ।

संघले आज आयोजित पत्रकार सम्मेलनमार्फत् प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी सार्वजनिक गरेको हो ।

नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार, राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बैशाख १७ देखि २६ गतेसम्म, र राष्ट्रिय महिला हक्की प्रतियोगिता बैशाख १८ देखि २६ गतेसम्म सञ्चालन हुनेछन् ।

पुरुष प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । पुरुषमा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी तथा एपिएफसहित प्रदेशका मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती सहभागी हुने छन् ।

एपिएफ हक्कीमा नयाँ टोली पनि हो । पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता कम नकआउट आधारमा खेल खेलाइने छ । समूह चरणपछि उत्कृष्ट टिमहरूबीच उपाधिका लागि भिडन्त हुनेछ ।

महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ । 

दुवै पुरुष तथा महिला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई नगद पुरस्कार प्रदान गरिनेछः पहिलो स्थानः रु ७५,०००, दोस्रो स्थानः रु ५०,०००, तेस्रो स्थान: रु २५,००० पाउने छन् ।

त्यस्तै, प्रत्येक विधामा उत्कृष्ट खेलाडीलाई जनही रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ । साथै, हरेक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रु २,००० नगदले पुरस्कृत गरिनेछ ।

महासचिव श्रेष्ठले प्रतियोगिताको व्यवस्थापनमा अनुमानित खर्चबारे पनि जानकारी गराउँदै भनिन्, “राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख र महिला प्रतियोगिता सञ्चालन गर्न करिब रु २५ लाख खर्च हुने अनुमान गरेका छौं ।”

श्रेष्ठले नेपालमा हक्कीको पूर्वाधार निर्माणको प्रयासबारे पनि जानकारी गराइन् । संघले धुलिखेलमा आवश्यक जग्गा प्राप्त गरिसकेको र त्यसको डिटेल प्रोजेक्ट रिपोर्ट (DPR) समेत तयार भइसकेको जानकारी दिइन् । “यदि योजना अनुसार काम अगाडि बढ्यो भने दुई वर्षभित्र पूर्ण सुविधासम्पन्न हक्की पूर्वाधार निर्माण गरिनेछ,” उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *