विभागीय टोली त्रिभुव आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधबार नै दुई सफलता प्राप्त गरेको छ।

नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आजबाट शुरु भएको प्रतियोगितामा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी शुरूवात गरेका हुन् ।

पुरुषतर्फ समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३-० गोलको जित निकाल्दै सुखद शुरुवात गरेको हो । आर्मीको जितमा प्रदीप राजवंशी, काशिराज राई र देव सिंह धामीले गोल गरे ।

आर्मीको जितमा रोशन चौधरी प्लेअर अफ दी म्याच भए । लिगकम नकआउटका आधारमा भएको यस समूहमा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपीएफ हक्कीमा नयाँ टिम हो ।

समूह ‘बी’ को पुलिसले पनि कर्णाली प्रदेशलाई ९-० ले हराउँदै सुखद शुरुवा गरेको छ । पुलिसको जितमा आयुस शाह र सुरेशप्रसाद जोशीले दुई तथा शंकर घर्तिमगर, नवराज खत्री, सुरज बोहोरा, काशिराम खत्री र अमित ओझाले समान एक गोल गरे । दुई गोल गरेका आयुस प्लेअर अफ दी म्याचसमेत भए ।

महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मात्र सहभागी छन् । यस प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदै छ । राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।

यसमा आर्मीले पहिलो खेलमा मधेश प्रदेशमाथि ७-० गोलको रबाफिलो जित निकालेको छ। दुई खेलाडी सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आमीले सहज जित दर्ता गर्यो । निलिमा पाण्डेको नाममा एक गोल रह्यो । पुलिसकी कमला चन्द प्लेअर अफ दी म्याच घोषित भइन् ।

त्यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्य, बोर्डकी कार्यकारी सदस्य तथा संघकी महासचिव सुवर्ण श्रेष्ठ, बोर्ड सदस्यद्वय अञ्जन धमला र जगतसिंह धामीलगायतले गरेका थिए । सो अवसरमा संघका उपाध्यक्ष मनीष झालगायत विभिन्न खेलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

संघको वार्षिक कार्यक्रमअनुसार सुरु राष्ट्रिय पुरुष हक्की बैशाख २६ गतेसम्म तथा राष्ट्रिय महिला हक्की प्रतियोगिता बैशाख २६ गतेसम्म हुनेछ । पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *