ब्राजिलिय लिजेन्ड फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ ।
विश्वकप विजेता रोबर्टो काठमाडौंमा जारी तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेल हेर्नका लागि शुक्रबार नेपाल आइपुग्ने तय थियो ।
तर, अप्रत्याशित परिस्थिति र अचानक स्वास्थ्यमा आएको समस्याका कारण रोबर्टो पूर्व निर्धारित समयमा काठमाडौं आउन सक्षम नहुने नेपाल सुपर लिगको आयोजकले बिहीबार एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।
कार्लोसको स्वास्थ्यलाई ध्यानमा राखेर यो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै सम्भव भएसम्म अब एनएसएलको फाइनलका लागि रोबर्टो नेपाल आउने गरि समन्वय भइरहेको बताइएको छ ।
‘हामी हाम्रा सबै प्रशंसकहरूलाई आश्वस्त पार्न चाहन्छौं कि रोबर्टो कार्लोसले निश्चित रूपमा नेपालको यात्रा गर्नेछन् र फाइनल अघि एनएसएलमा भाग लिनेछन्। यस प्रतियोगिताको हिस्सा बन्ने उनको प्रतिबद्धता अपरिवर्तित छ, र हामी नयाँ यात्रा मितिहरू अन्तिम रूप दिन उनको टोलीसँग नजिकबाट काम गरिरहेका छौं, जुन हामी चाँडै तपाईंसँग साझा गर्नेछौं।’ विज्ञप्तिामा भनिएको छ ।
