वीरगन्ज युनाइटेडलाई पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेडले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङ ब्वाइजले वीरगन्जलाई १-० गोलले पराजित गरेको हो ।

प्लानिङको जितमा फागु राम थारु नायक बने । उनकै गोलमा प्लानिङ ब्वाइजले जित हात पारेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिने अवस्थामा पुगेको थियो ।

तर, दोश्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै फागु रामले गोल गरेपछि खेलमा प्लानिङको जित पक्का भयो ।

वीरगन्जका निरज खड्काले फागुरामलाई नै बक्स भित्र फउल गरेपछि प्लानिङ ब्वाइजले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा उनी चुकेनन् ।

जितसँगै आठ खेलमा २२ अंक जोडेको प्लानिङ ब्वाइजले शीर्ष स्थानमा चार अंकका अग्रता बनाएको छ । यता पराजित वीरगन्जको समान खेलबाट १२ अंकसहित तेस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *