ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको तेश्रो संस्करणको फाइनलमा पोखरा थन्डर्स एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै ललितपुर लगातार दोश्रो पटक च्याम्पियन बनेको हो ।
ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै पहिलो पल्ट उपाधि जितेको थियो ।
यसपल्ट भने ललितपुर र पोखराले धनगढीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएको थियो । ललितपुरले अपराजित रहँदै उपाधि जित्दा पहिलो पल्ट फाइनल पुगेको पोखरा भने उपविजेतामा सीमित रह्यो ।
ललितपुरलाई जित दिलाउन इमोह इजेकेल र पापा केबेले गोल गरे । पोखराका सुदील राईले गोल गरे पनि टिमको हार टार्न सकेनन् ।
खेलको ४२औं मिनेटमा इमोहले गोल गरेपछि ललितपुरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६४औं मिनेटमा सुदीलले पोखराका लागि बराबरी गोल फर्काए ।
तर, ७४औं मिनेटमा केबेले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखे । केबेको यही गोल निर्णायक बनेपछि ललितपुर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
च्याम्पियन ललितपुरले ट्रफीसहित ८० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता पोखराले ३० लाख रुपैयाँमा चित्त बुझाएको छ ।
