पोखरा थन्डर्स एफसीले तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ ।

शनिबारब त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले काठमाडौं रेजर्स एफसीलाई २-० गोलले पराजित गरेको हो ।

पोखरालाई जित दिलाउनका लागि स्टेफन समीर बिनोङले र सुदील राईले गोल गरे ।

खेलको २५औं मिनेटमा बिनोङको गोलमार्फत पोखराले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । उनले साइददोस्तोन जाफरोभको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।

३३औं मिनेटमा उनै स्टेफेनले पेनाल्टीमा मिस गरे । उनले हानेको पेनाल्टी काठमाडौंका गोलकिपर अभिषेक बरालले बचाए । सुदिलले खेलको ५८औं मिनेटमा पोखराका लागि दोस्रो गोल गरे ।

जितसँगै ३ खेलका ३ अंक जोडेको पोखरा चौथो स्थानमा उक्लिएको छ । पोखरा पहिलो खेलमा एफसी चितवनसँग २-० ले र दोस्रो खेलमा ललितपुरसँग तनावपूर्ण खेलमा २-१ ले पराजित भएको थियो ।

काठमाडौंको यो पहिलो हार हो । काठमाडौं समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा झरेको छ ।

काठमाडौंले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर एफसी सिटीसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने झापा एफसीसँग गोलरहित बराबरीको नतिजा निकालेको थियो ।

आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल हुनेछ । गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई हराउँदै उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *