पोखरा थन्डर्स एफसीले तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित दर्ता गरेको छ ।
शनिबारब त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पोखराले काठमाडौं रेजर्स एफसीलाई २-० गोलले पराजित गरेको हो ।
पोखरालाई जित दिलाउनका लागि स्टेफन समीर बिनोङले र सुदील राईले गोल गरे ।
खेलको २५औं मिनेटमा बिनोङको गोलमार्फत पोखराले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । उनले साइददोस्तोन जाफरोभको क्रसमा हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए ।
३३औं मिनेटमा उनै स्टेफेनले पेनाल्टीमा मिस गरे । उनले हानेको पेनाल्टी काठमाडौंका गोलकिपर अभिषेक बरालले बचाए । सुदिलले खेलको ५८औं मिनेटमा पोखराका लागि दोस्रो गोल गरे ।
जितसँगै ३ खेलका ३ अंक जोडेको पोखरा चौथो स्थानमा उक्लिएको छ । पोखरा पहिलो खेलमा एफसी चितवनसँग २-० ले र दोस्रो खेलमा ललितपुरसँग तनावपूर्ण खेलमा २-१ ले पराजित भएको थियो ।
काठमाडौंको यो पहिलो हार हो । काठमाडौं समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा झरेको छ ।
काठमाडौंले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर एफसी सिटीसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा भने झापा एफसीसँग गोलरहित बराबरीको नतिजा निकालेको थियो ।
आजै हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल हुनेछ । गत संस्करणको फाइनलमा ललितपुरले धनगढीलाई हराउँदै उपाधि जितेको थियो ।
