पोखरा थन्डर्स एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २-० गोलले पराजित गर्दै पोखराले प्लेअफमा स्थान पक्का गरेको हो ।

पोखरालाई जित दिलाउन आयुष घलान र विलियम बियासीले गोल गरे । १०औं मिनेटमा आयुषले गोल गर्दै पहिलो हाफमा पोखरालाई १-० को अग्रता दिलाएका थिए।

आयुषले समीर तामाङको क्रसमा हेडमार्फत गोल गरेका थिए । त्यसपछि बियासीले ५९ औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको कर्नरमा हेडमार्फत गोल गर्दै पोखरालाई २-० को जित दिलाए ।

जितसँगै ६ खेलबाट ८ अंक जोडेको पोखरा तेश्रो स्थानमा उक्लिएको छ । यता पराजित बुटवलले समान खेलबाट १ अंक जोड्दै तालिकाको अन्त्यमा रहेर यो सिजन टुङ्ग्याएको छ ।

पोखरा जारी सिजनको प्लेअफमा प्रवेश गर्ने तेश्रो टोली हो। यसअघि साविक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसीले प्लेअफसमा स्थान बनाइसकेका छन् ।

मंगलबारको खेलमा पोखरा विजयी भएसँगै झापा एफसीको प्लेअफ सम्भावना भने टुंगिएको छ । अब पहिलो सिजनको विजेता काठमाडौं रेजर्स र एफसी चितवनमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *