पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा न्युजिल्याण्डले क्लिनस्वीप गरेको छ ।
शनिबार भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा न्युजिल्याण्ड ४३ रनले विजयी भएका हो । जितसँगै सिरिज ३-० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
वर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा न्युजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाएको थियो । जवाफमा पाकिस्तान ४० ओभरमा सवै विकेट गुमाएर २२१ रनमै समेटियो । पहिला ब्याटिङ गर्दा न्युजिल्याण्डका कप्तान माइकल ब्रेसवेलले ४० बलमा ५९ रनको आक्रामक पारी खेले, जसमा उनले ६ छक्का प्रहार गरे ।
त्यसैगरी डेरिल मिचेलले ४३ र हेनरी निकोल्सले ३१ रन बनाए। पाकिस्तानका लागि अकीफ जावेदले उत्कृष्ट प्रदर्शन गर्दै ८ ओभरमा १ ओभर मेडन राख्दै ६२ रन दिँदै ४ विकेट लिए । उनले मध्यक्रमका ब्याट्सम्यानहरूलाई पवेलियन फर्काउँदै न्युजिल्याण्डको रन गति रोकेका थिए । यस्तै नसीम शाहले पनि ९ ओभरमा ५४ रन दिँदै २ विकेट लिए ।
अन्य बलरहरू मध्ये फहीम अशरफले १ विकेट लिएर ५ ओभरमा ३१ रन दिए भने स्पिनर सुफियान मुकीमले किफायती बलिङ गर्दै ९ ओभरमा ४५ रन खर्चेर १ विकेट हात पारे। मोहम्मद वसीम र सलमान आघाले भने विकेट लिन सकेनन् ।
२६५ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान सुरुवातदेखि नै दबाबमा देखियो । कप्तान बाबर आजमले ५० रन बनाए भने मोहम्मद रिजवानले ३७रनको योगदान दिए । तर नियमित अन्तरालमा विकेट गुमाउँदै गएपछि पाकिस्तान ४० ओभरमा २२१ रनमै अलआउट भयो ।
ओपनर अब्दुल्लाह शफिकले ५६ बलमा ३३ रन बनाएर सुरुआतमा सम्हालिए पनि दोस्रो छेउबाट इमाम-उल-हक घाइते भई खेलबाट बाहिरिए । त्यसपछि आएका उस्मान खान (१२), सलमान आघा (११), र फहीम अशरफ (३) सस्तोमा आउट भए ।
कप्तान बाबर आजमले ५८ बलमा ५० रन बनाएर संघर्ष गरे भने विकेटकीपर मोहम्मद रिजवानले ३२ बलमा ३७ रन बनाएर आक्रामक पारी खेले । त्यस्तै, ताय्यब ताहिरले पनि ३१ बलमा ३३ रन बनाए ।
पुछारका ब्याट्सम्यानहरू मध्ये नसीम शाहले १३ बलमा १७ रन बनाउँदै केही आशा देखाएका थिए, तर बेन सियर्सको धारिलो बलिङले पाकिस्तानलाई पुरै दबाबमा राख्यो । सियर्सले मात्र ९ ओभरमा ५ विकेट लिए ।
त्यस्तै, ज्याकब डफीले ७ ओभरमा ४० रन दिएर २ विकेट लिए । माइकल ब्रेसवेल, मुहम्मद अब्बास, र डेरिल मिचेलले समान एक विकेट लिए ।
यसअघि न्युजिल्याण्डले पाँच खेलको टी २० सिरिज ४-१ ले जितेको थियो ।
