१३ वर्षसम्म लेस्टर सिटीको जर्सीमा इतिहास रचिसकेका इंग्ल्यान्डका स्ट्राइकर जेमी भार्डीले अन्ततः क्लब छाड्ने घोषणा गरेका छन् ।
क्लबको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक भावुक भिडियोमार्फत भार्डीले आफ्नो बिदाइको सन्देश दिएका छन् ।
भिडियोमा भार्डीले भनेका छन्, “मैले यो क्लबमा १३ अविश्वसनीय वर्ष बिताएँ । थुप्रै सफलता पाएँ, केही चुनौतीहरू पनि आए, तर अधिकांश समयहरू विशेष थिए । अब यो यात्राको अन्त्य गर्ने समय आएको छ भन्ने मलाई लाग्छ ।”
सन् २०१२ मा नन-लिग क्लब फ्लीटवुड टाउनबाट लेस्टरमा भित्रिएका भार्डी क्लबका सबैभन्दा सफल खेलाडीमध्ये एक बने । २०१५/१६ मा क्लबलाई प्रिमियर लिग उपाधि जिताउन उनले खेलेको भूमिका अहिलेसम्मको एक ऐतिहासिक क्षण हो । उनले हालसम्म क्लबका लागि ४९५ खेल खेल्दै १९८ गोल गरेका छन् ।
फ्यानप्रतिको माया व्यक्त गर्दै उनले भने, “तपाईंहरूले मलाई सधैं आफ्ना जस्ता बनाएर स्वागत गर्नुभयो । लेस्टर मेरो दोस्रो घर हो । यो क्लब सधैं मेरो मुटुमा रहनेछ ।”
तर यो बिदाइ फुटबलबाट संन्यास भने होइन । “यो रिटायरमेन्ट होइन । म अझै केही वर्ष खेल्न चाहन्छु, अझै गोलहरू बाँकी छन् भन्ने लाग्छ । आशा छ, बाँकी खेलहरूमा लेस्टरका लागि पनि केही योगदान गर्न सक्नेछु ।”
उनको अन्तिम घरेलु खेल मे १८ तारिखका दिन इप्सविच टाउनविरुद्ध किङ पावर स्टेडियममा हुनेछ । त्यो खेल क्लब र समर्थकहरूका लागि एक ऐतिहासिक विदाई क्षण हुनेछ ।
