बारा । जीतपुरसिमरा गोल्डकपको १५औं संस्करण बाराको सिमरा रंगशालामा शुरु भएको छ ।
शुक्रबार साँझ सम्पन्न उद्घाटन खेलमा हनामी बिएफसी भरतपुरले सलहेश युवा क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे भने सिरहाका लागि सुशील राईले गोल गरे ।
पहिलो हाफमा गोलरहित बनेको प्रतिष्पर्धात्मक खेलको ६०औं मिनटमा भरतपुरले एक गोल गर्दै अग्रता लिएको थियो । आकाश थापा मगरको कर्नर पासलाई डिबक्स भित्रबाट विशालले गोलमा परिणत गरे ।
खेलको ७९औं मिनटमा विशाल राईले गोल गर्दै सिरहालाई खेलमा फर्काएका थिए । अमन लामाको क्रस पासलाई सदुपयोग गर्दै विशालले डिबक्स बाहिरबाट आकर्षक गोल गरे ।
अन्तिम समयमा सम्हालिन नसकेको सिरहाविरुद्ध निर्णायक गोल गर्दै भरतपुरले सेमीफाइनल यात्रा तय गर्यो । खेलको ८५औं मिनेटमा राज भुषालले सिरहाविरुद्ध निर्णायक गोल गरे ।
भरतपुरका सुदीप मगरले प्रहार गरेको फ्रिकिक सिराहाका डिफेण्डरले हेडिङमार्फत क्लिएर गर्ने क्रममा रिवाउण्ड बललाई करिब ३० यार्ड परबाट राजले गोलमा परिणत गरे ।
खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच भरतपुरका राज भुषाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ट्रफी प्रदान गरे ।
शनिबार आयोजक नव जनजागृति युवा क्लब सिमरा र हेटौंडाको एन्फा मकवानपुरकाबीच खेल हुँदैछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगितामा यसवर्ष ८ टिम सहभागी छन् ।
