धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी १७औं संस्करणको सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
धनकुटा-५ स्थित तल्लो टुढिखेलमा शुक्रबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै गाइघाट उपाधि नजिक पुगेको हो ।
खेलमा पहिले अग्रता भने एपिएफले खेलको पहिलो मिनेटमा लिएको थियो । एपिएफले युवराज खड्काको गोलमा अग्रता लिएको थियो ।
एपिएफको सो अग्रतालाई गाइघाटले किस्मत लिम्बुको गोलमा ६०औं मिनेटमा बराबरी गर्यो । त्यसको १० मिनेटपछि विदेशी खेलाडी फोफोनाले गोल गर्दै गाइघाटलाई २-१ को अग्रता दिलाए ।
त्यसपछी थप गोल हुन नसक्दा गाइघाट २-१ ले विजयी भयो । खेलको म्यान अफ दि म्याच गाइघाटका एक गोलकर्ता फोफोना घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
अब गाइघाटले आज (शनिबार) उपाधिका लागि नमोबुद्ध क्लब सप्तरीको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।
