डेक्लान राइसले दोस्रो हाफमा फ्रिकिकमार्फत उत्कृष्ट २ गोल गरेपछि आर्सनललाई च्याम्पियन्स लिगको सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।
एमिरेट्स स्टेडियममा मंगलवार आर्सनलले क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई ३-० ले हराएको छ।
आर्सनलले सुरुवातमै रियलको पेनाल्टी क्षेत्रभित्र केहि खतरनाक क्रसहरु गर्दै दबाब दिएको थियो । २०औं मिनेटसम्म रियलले मौका बनाउन सकेन । पहिलो मौकाका रुपमा भिनिसियस जुनियरको प्रहार पोस्टको बाहिर गयो।
तर दोस्रो हाफमा राइसले आर्सनलका लागि खेल नियन्त्रण लिए। आर्सनलले ५८औं मिनेटमा अग्रता लियो।
राइसले उत्कृष्ट फ्रि-किकमार्फत रियलको पर्खाल घुमाउँदै गोल गरे । ७०औं मिनेटपछि राइसले दोस्रो गोल पनि त्यतिकै सानदार फ्रिकिक मार्फत गरे ।
७५ औं मिनेटमा मिकेल मेरिनोले क्रसमा आएको बललाई उत्कृष्ट फिनिस गरे । इन्ज्युरी समयमा रियल १० खेलाडीमा सिमित भएको थियो। एडुआर्डो क्यामाभिङ्गा दोस्रो पहेंलो कार्ड पाएपछि मैदानबाट बाहिरिए ।
आर्सनल २००८/०९ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । दोस्रो लेग साविक विजेता रियलको मैदानमा हुनेछ ।
