अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको बैठकले ‘ए’ डिभिजनका क्लब सहभागी हुने प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता वैशाख २० गतेबाट सुरू हुने एन्फाले जनाएको छ ।
प्रतियोगितामा लिग खेल्ने १४ क्लब सहभागिता हुने भएको छ । एन्फा महासचिव किरण राईले सो प्रतियोगिताको विजेताले एएफसी क्लब कम्पिटिसन २०२५/०२६ सिजनमा भाग लिन पाउने प्रस्ताव राखेका थिए ।
प्रतियोगितामा सहभागी हुन वैशाख १० गतेभित्र टिम दर्ता गर्नुपर्ने एन्फाले जनाएको छ । त्यसको पाँच दिनभित्र न्यूनतम खेलाडी दर्ता गर्ने एन्फा र क्लबबीच सहमति पनि भएको छ ।
बैठकमा एन्फा केन्द्रिय सदस्य मनिराज विष्ट, सहायक महासचिव अरुणमान जोशी, प्रतियोगिता संयोजक संजिव मिश्र र ए डिभिजन क्लबहरुको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
