तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोश्रो जित हासिल गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनले बुटवल लुम्बिनी एफसीलाई १-० गोलले पराजित गरेको हो ।
चितवनलाई जित दिलाउन घानाका अट्याकिङ मिडफिल्डर टोरिक जेब्रिनले गरेको गोल निर्णायक बन्यो । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।
एनएसएलमा बुटवलमाथि चितवनको यो नै पहिलो जित हो । यसअघिका दुई संस्करणमा यी दुई टोलीले २–२ र १–१ को बराबरी खेलेका थिए ।
लगातार दोश्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको चितवन शीर्ष स्थानमा उक्लिएको छ । यस्तै लगातार दोश्रो हार व्यहोरेको बुटवलले तीन खेलबाट २ अंक जोडेको छ ।
अञ्जन विष्टको कप्तानीमा रहेको चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० गोलले पराजित गरेको थियो ।
यस्तै एरिक विष्टको कप्तानीमा रहेको बुटवल भने पहिले खेलमा झापासँग गोलरहित बराबरी खेल्दा दोश्रो खेलमा धनगढी एफसीसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।
