विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपालगन्ज रङ्गशालामा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६-५ गोल अन्तरले स्तब्ध पार्दे पुलिस फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा पुलिसको तर्फबाट पहिलो हापको २९औं मिनेटमा मिना देउवाले एक गोल गरेर पुलिसलाई एक गोलले अग्रता दिलाउन सफल भइन् । पहिलो हाप सकिदा सम्म आर्मीका तर्फबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हापको ८०औं मिनेटमा आर्मीका तुलसा बोहोराले एक गोल गरिन् ।

आर्मीका तुलसा बोहोराले गोल गरेपछि खेलको निर्धारित समय सकिदा सम्म दुबै टिमबाट थप अर्को गोल हुन सकेन । १-१ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले पेनाल्टी गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न चुके ।

यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा भइन् ।

गोलकिपर उषालाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रकृषी चौलागाई , चार नम्बर बाहिनी पति सहायक रथि बिक्रम राणा र के आइ इ सी नेपालगन्ज प्रमुख शुभास थापाले संयुक्त रुपमा नगद रु ५ हजार प्रदान गरेका थिए । गोलकिपर उषाले आफूलाई ग्राउण्डमा खेल्ने अवसर दिएमा राम्रो नतिजा दिन सक्ने बताएकी छिन् ।

आजको प्रतियोगिताको मुख्य रेफ्रि क्रिष्ण खत्री रहेका थिए भने सहायक रेफ्रिहरुमा जमुना आले , अमर घले र अनुपसिङ थारु रहेका थिए । आजको खेलमा पहेलो कार्ड पुन्जली कुशवारले पाएकी थिइन ।

खेल आयोजक संस्था अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह र नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष तथा आयोजकका तर्फबाट मिडिया संयोजक निरज गौतमले संयुक्त रुपमा खेलाडिलाई बल हस्तान्तर गरेपछि सुरु भएको थियो ।

त्रिभुवन आर्मीका कोच चक्र तामाङले रेफ्रिको कमजोरी र व्यवस्थापकिय पक्षको त्रुटीका कारण सोचे अनुसारको प्रस्तुती दिन नसकेको बताए । यो नतिजाले आगमी दिनमा सिकाई भएको र केही राम्रा खेलाडीको अभाव भएको समेत उल्लेख गरे । यस्तै आर्मीका क्याप्टेन सुनिता चौधरीले खेलाडीहरुले राम्रो प्रस्तुती दिएको भएपनि सोचेअनुरुप खेल हुन नसकेको बताइन्

यस्तै नेपाल पुलिस क्लवका कोच सुमन सुवेदीले दुबै टिम बिभागिय भएकाले प्रतिस्पर्धा कडा भएपनि खेलमा नजिता आउनेमा विश्वस्त रहेको बताए । उनले फाइनल खेलमा पनि जितको राम्रो संभावना आकलन गरेका छन् । पुलिसका क्याप्टेन निरु थापाले घरेलु मैदानबाट फाइनल खेल जितेर जाने गरी तयारीमा रहेको बताएकी छिन् ।

पुलिसले अब उपाधिका लागि भोली बुधबार हुने दोस्रो सेमिफाइनल खेल अन्र्तगत रौतहट फुटबल सङ्घको टोली र अर्को विभागीय टोली एपीएफबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

बाँके जिल्ला फुटबल सङ्‌घसँगको सहकार्यमा भइरहेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *