काठमाडौं । थापाथली पार्क चेस क्लबले दुईदिने राष्ट्रब्यापि र्‍यापिड १८०० रेटिङ्ग मुनिको चेस प्रतियोगिता सम्पन्न गरेका छन् । आयोजकले १० मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट समय तालिका भित्र जम्मा नौ चरणको स्वीस लिग प्रतिस्पर्धा सञ्चालन गरेको थियो । 

कूल १ लाख ७ हजार नगद पुरस्कार राशी रहेको राष्ट्रिय चेस स्पर्धामा सबै खेल जितेर पूर्ण ९ अंक जोड्दै मकवानपुरका लोकबहादुर गोलेले उपाधि जितेका छन् । 

जम्मा ५० जिल्लाका सहभागी खेलाडी विच उत्कृष्ट बन्दै १७६९ रेटेड लोकबहादुर गोलेले पुरस्कार राशी नगद रु.२० हजार, आकर्षक ट्रफि र गोल्ड मेडल हात पार्न सफल भएका छन् । 

यस्तै भक्तपुर जिल्लाका १८९६ रेडेट दामोदर गाँइजू एकल ७.५ अंक हासिल गर्दै दोश्रो स्थानमा उभिन सफल बनेका छन् । उनले ७ जित र एक बराबर खेल खेल्दै नगद रु. १५ हजार र शिल्भर मेडल प्राप्त गरेका छन् । 

प्रमुख निर्णायक अन्तर्राष्ट्रिय आर्विटर आईए ज्ञानेन्द्र खाइजूले पूर्व घोषणा गरेको नियम अनुसार डाइरेक्ट इन्काउण्टर, बुकोल्ज्स भारिएबल पारामिटर लागू गरिएको खेलमा जम्मा ८ जना खेलाडीले समान ७ अंक जोडेका थिए । 

यसै नियमका आधारमा आयोजक क्लबका १६९४ रेटेड फुर्वा लामा ५२.५ टाइब्रेक प्वाइन्ट जोडेर तेश्रो स्थान प्राप्त गरेका छन् । फुर्वाले पुरस्कार राशी नगद रू. १० हजार र ब्रञ्च मेडल हात पार्न सफल रहे । 
 
यसैगरी काठमाडौंका १७८४ रेटेड हेमराज भण्डारीले ५०.५ टाइब्रेक प्वाइन्ट प्राप्त गर्दै चौथो बनेर नगद रू.७ हजार जिते । चेस पार्कका १६८१ रेटेड राम तामाङले ५० टाइब्रेक प्वाइन्ट जोडेर पाँचौ भइ नगद रु. ५ हजार प्राप्त गरेका छन् । 

समान ७ अंक टाइब्रेक प्वाइन्ट कै आधारमा स्याङ्जाका १७८२ रेटेड सुशील सुवेदी, काठमाडौंका अनरेटेड अभिषेक श्रेष्ठ, १७९४ रेटेड रमेश बीर माली, बाराका १७७२ रेटेड निर्मल सापकोटा र रुकुमका १७७० रेटेड मिलन रोक्का क्रमश: छैटौं देखि दशौं स्थानमा रहँदै जनही ४/४ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् । 

बुद्धिचाल खेलका विभिन्न विधामा उत्कृष्ट बनेका थप १७ जना खेलाडीले विधागत पुरस्कार पाउनेमा महिला तर्फ झापा जिल्लाकी पुनम प्रसाईं ५ अंक जोडेर प्रथम भईन भने काठमाडौकी बिनिता कपाली र सिन्दिरा जोशी समान ४.५ अंक बनाउदै दोश्रो र तेस्रो भईन । 

स्पर्धामा अनरेटेड तर्फ काठमाडौका गौरव नेपाल, कास्की जिल्लाका सुजन रानाभाट र दाङ जिल्लाका बेदु सरुमगर क्रमशः उत्कृष्ट बने । उत्कृष्ट सिनियर खेलाडी काठमाडौका डिबि कार्की र उत्कृष्ट स्थानिय भाईराजा प्रजापति छनौट भए । 

सँगसँगै युवा १०,१२,१४ र १६ वर्षमा छात्र तर्फ ललितपुर चेस एकेडेमीका साहस श्रेष्ठ, पेभेलियन चेस एकेडेमीका हार्दिक पन्त, पाल्पाका अग्रिम शैंजू र सिन्धुपाल्चोकका सजल न्यौपाने उत्कृष्ट ठहरिए ।

यसै विधामा छात्रा तर्फ ललितपुर महालक्ष्मी चेस एकेडेमीवाट ग्लोसी श्रेष्ठ, काठमाडौकि विपाशना केसि, पेभेलियन कै नेलिशा ओझा र भक्तपुरकि यशस्वी शर्मा उत्कृष्ट बनीन् ।   

यसैविच प्रतियोगिताका संयोजक एवं क्लबका अध्यक्ष सानुराज बज्राचार्यको सक्रियतामा सम्पन्न भएको प्रतिस्पर्धामा माओवादीमा नेता देव गुरुङ, नेपाल ओलम्पिक कमिटीका सचिव राम श्रेष्ठ ‘ बोस’, नेपाल लोकतान्त्रिक खेलकुद संघका सहप्रवक्ता राजु ताम्राकार, नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट, ललितपुर महानगरपालिका २१ वडाका अध्यक्ष रविन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *