इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन् । उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो ।
३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो ।
त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ गोल र १ सय ९ असिस्टमा गरेका छन् ।
‘अवश्य पनि म धेरै उत्साहित छु । अहिले हाम्रो टोली निकै राम्रो छ,’ सालाहले भने,’ अघिल्लो टोली पनि राम्रो थियो । मलाई लाग्छ हामीसँग थप उपाधि जित्ने मौका छ र म आफ्नो फुटबलको मजा लिन सक्छु । त्यसैले सम्झौता थपेको हुँ।’
उनले थपे, ‘मैले यहाँ आठ वर्ष खेलिसकेको छु । आशा छ यो १० वर्ष हुनेछ । म यहाँको जीवन रमाइलो गरिरहेको छु। फुटबल पनि रमाइलो भइरहेको छ । मेरो करियरका उत्कृष्ट वर्ष यहीँ बितेका छन् ।’
सलाहले यो सिजन सबै प्रतियोगितामा ३२ गोल गरेका छन् । जसमा प्रिमियर लिगमा २७ गोल छन् । लिभरपुल अहिले दोस्रो स्थानमा रहेको आर्सनलभन्दा ११ अंकले अगाडि छ । ७ खेल बाँकी छन् ।
सलाहले सन् २०१७ मा रोमाबाट लिभरपुलमा आएपछि च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप र फिफा क्लब विश्वकप जितेका छन् । उनी लिभरपुलका तीन प्रमुख खेलाडीमध्ये एक हुन्, जसको सम्झौता यो सिजनको अन्त्यमा सकिदै थियो ।
बाँकी दुई हुन् राइट-ब्याक ट्रेण्ट अलेक्जेन्डर-आर्नोल्ड र सेन्टर-ब्याक भर्जिल भान डाइक छन् । नेदरल्याण्ड्सका डिफेन्डर भान डाइकले नयाँ सम्झौतामा छलफल अघि बढेको बताएका छन् । अलेक्जेन्डर-आर्नोल्डलाई रियल म्याड्रिड जाने चर्चा छ ।
