हङकङमा जारी चार देशीय टी- २० आई सिरिजमा आज भएको फाइनल खेलमा कुवेतले नेपालविरुद्ध ३ विकेटको एतिहासिक जित निकालेको छ ।

कुवेतले पहिलो पटक टी–२० मा नेपाललाई पराजित गर्न सफल भएको हो । यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई पराजित गरेको थियो ।

कुवेतले दिएको १७४ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रनमा अलआउट भयो ।

नेपालका लागि बसिर अहमद र नन्दन यादवले सानदार ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

करियरको पहिलो अर्धशतकीय पारी खेल्नेक्रममा बसिरले ४३ बलमा आठ चौका र चार छक्कासहित ८० रन बनाए ।

यस्तै, नन्दनले १४ बलमा चार छक्का र दुई चौकासहित ३७ रन जोडे ।  आसिफ शेख २१ रनमा आउट भए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

कुवेतका लागि बलिङमा अुनदीप चिन्थामाराले ३ तथा यासिन पटेल र नविनराज राजेन्द्रनले समान २ विकेट लिए ।

यसअघि मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रनको योगफल तयार पारेको थियो ।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । यसैगरी क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो । हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो । कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *