इन्डियन प्रिमियर लिग (आईपिएल) २०२५ अन्तर्गत आज सुपर सन्डे अर्थात् आईतबार दुई खेल हुँदै छन् ।
पहिलो खेलमा राजस्थान रोयल्स र च्यालेन्जर्स बैंगलुरु (आरसिबी) बीच भिडन्त हुँदै छ । जयपुरको सवाई मानसिंह क्रिकेट स्टेडियममा हुने पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ देखि शुरु हुनेछ ।
त्यस्तै दोश्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच भिडन्त हुनेछ । दिल्लीको अरुण जेट्ली क्रिकेट स्टेडियममा हुने दिल्ली र मुम्बईको खेल नेपाली समय अनुसार राती ७:४५ देखि शुरु हुनेछ ।
पछिल्लो खेलमा राजस्थान र आरसिबी दुवै टोलीको हारको सामना गर्नु परेको थियो । राजस्थान गुजरात र आरसिबीसँग पराजित भएका थिए । आजको खेलमा दुवै टोली जितको रणनीतिका साथ मैदानमा उत्रिने छन् ।
आईपिएलमा अहिलेसम्म राजस्थान र आरसिबीबीच ३२ खेलमा भिडन्त भएको छ । जसमा राजस्थानले १४ र आरसिबी १५ खेलमा जित हासिल गरेका छन् । ३ खेल भने बराबरीमा सकिएको छ । त्यसैले आजको खेल यी दुवै टोलीकाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
दोश्रो खेल जारी आईपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै चारमा चार खेल नै जितेर अंक तालिकको शिर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्स र पाँच खेलमा ४ खेल हारेर अंक तालिकाको नवौं स्थानमा रहेको मुम्बई इण्डियनबीच हुँदै छ ।
पाँच पटकको च्याम्पियन मुम्बई पछिल्ला दुई खेलमा पराजित भएको छ । आजको खेलमा मुम्बईले कमव्याक गर्ने अनुमान गरिए पनि जारी आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित रहदै आएको दिल्लीलाई उसैको घरेलु मैदानमा पराजित गर्न फलामकै चिउरा चपाउनु जत्तिकै हुन्छ ।
