धनकुटा । १७औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध युथ क्लब सप्तरीले जितेको छ ।

शनिबार धनकुटा-५ स्थित तल्लो टुढिखेलमा सम्पन्न फाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि जितेको हो ।

उपाधिसँगै नमोबुद्धले ५ लाख नगद सहित ट्रफी जितेको छ । उपविजेता गाइघाटले २ लाख ५० हजार नगद सहित ट्रफी जितेको छ ।

निर्धारित समय २–२ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा नमोबुद्धका लागि सनम धिमाल, आयुष मगर, हेमन्त भुजेल, विवेक राई र प्रवेश दनुवारले गोल गरे ।

गाइघाटका लागि निश्चल मोक्तान, आकाश राई र प्रवीन राईले गोल गरे । धिरेन क्षेत्रीको प्रहार नमोबुद्धका गोलरक्षक रविन बस्नेतले बचाए ।

यसअघि ४०औं मिनेटमा राज भुसालको गोलमा नमोबुद्धले सुरुवाती अग्रता लिएको थियो । त्यसको एक मिनेट बित्न नपाउँदै आकाश राईले गाईघाटका लागि बराबारी गोल फर्काए ।

४३औं मिनेटमा क्षितिज भण्डारीले गोल गर्दा नमोबुद्ध २-१ ले अघि बढ्यो । तर, ८३औं मिनेटमा गाईघाटका असिम राईले गोल गरेपछि खेललाई २-२ को बराबरीमा पुर्याएका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच नमोवुद्धका गोलरक्षक रविन बस्नेत घोषित भए । रविन नै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नमोवुद्ध कै राज भुसाल घोषित भए । उनले नगद १७ हजार ५ सय ५५ रुपैयाँ हात पारे ।

सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा चैत १७ गतेदेखि एक सातासम्म सञ्चालित प्रतियोगितामा आठ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *