पोखरा । केपि ओली कप राष्ट्रिय खुल्ला टि-२० पुरुष क्रिकेट प्रतियोगिताको दोश्रो दिन आईतबारको खेलमा पोखरा महानगर क्रिकेट कलब विरुद्धको खेलमा हेटौडा बिजयी बनेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले विजयी बनेको हो । जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो ।
पोखरा पहिलो खेलमा स्याङजासँग पराजित भएको थियो । समुह ‘ए’ को खेलमा पहिलो दिन एक खेल गुमाएको हेटौडा पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल भएको छ ।
यस अघि टस जितेर व्याटिङमा उत्रिएको पोखरा महानगर १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै जोड्न सक्यो ।
पोखराका लागि सुमित श्रेष्ठले ३ चौकाका साथ ३९ बलमा २६ रनको सर्वाधिक पारी खेल्दा प्रमोद बास्तोलाले १६ बलमा ३ छक्काका साथ २२ रन बनाउँदा दिपक बरालले १४ रन बनाउनु बाहेक अन्य व्याटरहरुले दोहोरो रन छुन सकेनन् ।
पोखरालाई सस्तैमा समेट्न अशिम श्रेष्ठ र अखिलश ठाकुरले समान ३२३ विकेट हात पारे । खेलको म्यान अफ दि म्याच समेत रहेका अशिमले ३.५ ओभरमा २२ रन खर्चीएर ३ विकेट लिए भने अखिलेशले ३ ओभरमा १३ डटबल राख्दै ८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सम्सुद अल मन्सुरीले ४ ओभरमा १२ रन दिएर २ विकेट लिए ।
यता ७२ रनको लक्ष्य पछ्याएको हेटौडा १२ ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भयो । हेटौडाको जितमा ओपनर गौरभ खड्काको भूमिका महत्वपूर्ण रह्यो। ३२ बलको सामना गरेका उनले ४ चौका साथ ३२ बलमा ३४ रन जोडे । उनी मार्शल बरालको बलमा प्रमोद बास्तोलाको हातबाट क्याच आउट भए ।
खेलमा पोखराका बलरले भने हेटौडाको मिडल अर्डर ब्याटरहरुलाई क्रिजका लामो समय टिक्न भने दिएन । अर्का ओपनर सुभाष कशांकार तीन बलको सामना गर्दै सुभाष बास्तोलाको एलविडव्लु हुँदै डकआउट भए ।
तेश्रो क्रमका युविन बुढाथोकी समेत सून्य रनमा पेभिलियन फर्किए । दुई बलमात्रै खेलेका उनी समिर भुजेलको बलमा सुभाष बास्तोलाको हातमा क्याच थमाए । त्यस्तै सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बास्तोलाले ४ रन बनाउँदा नट आउट रहेका अखिलेश ठाकुरले ८ तथा राम नरेश गिरीले १४ रनको योगदान दिए ।
पोखराका लागि समीर भुजेलले ४ ओभरमा मात्र १५ रन खर्चिएर १ विकेट हात पार्न सफल हुँदा ञ्जन केसीले ३ ओभरमा १० रन खर्चेर २ विकेट र मार्शल बरालले १ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।
यो खेलसँगै सिइसी काठमाडौं र स्याङजा क्रिकेट क्लबका बीच दोस्रो खेल जारी रहेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनमा सुरु भएको क्रिकेटमा १६ टिमको सहभागिता रहेको छ । बैशाख ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।
