काठमाडौंमा जारी यु-१९ एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
आइतबार नेपाल यु-१९ टोली अफगानिस्तान यु-१९ टोलीसँग १ रनले पराजित भएको हो । यो सँगै तीन खेलको सिरिज अफगानिस्तानले एक खेल अगावै २-० ले जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा १६७ रनमा अलआउट भयो ।
नेपालका लागि ओपनर साहिल पटेलले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेल्दा ध्रुव सोनारले २१, अभिषेक तिवारीले २४, नीरज कुमार यादवले १५ र कप्तान नरेन भट्टले १३ रन जोडे ।
अफगानिस्तानका लागि वाहिदुल्लालह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले समान २ तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाईले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल तयार पारेकाे थियाे ।
अफगानिस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८, रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन जोडे ।
नेपालका लागि सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले समान २ तथा अभिषेक तिवारीले १ विकेट लिए ।
नेपाल पहिलो खेलमा १३० रनले पराजित भएको थियो । तेस्रो खेल अब बुधबार हुनेछ ।
नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।
