सिएरा लियोनमाथि ९८ रनको शानदार जितसँगै तान्जेनियाले अफ्रिका छनोट प्रतियोगिता जित्दै पहिलो पटक आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ ।
नाइजेरियामा भएको छनोट प्रतियोगितामा अपराजित रहँदै तान्जेनियाले प्रतियोगिताको शीर्ष स्थान हासिल गर्यो र जिम्बाब्वे तथा नामिबियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गर्ने १२औं राष्ट्र बन्यो । उनीहरू क्षेत्रीय छनोट प्रक्रियाबाट छनोट हुने पहिलो टोली समेत हुन् ।
गत वर्ष अगस्टमा आफ्नै देशमा सम्पन्न डिभिजन २ छनोट प्रतियोगिता जित्दै प्रारम्भिक यात्रा सुरु गरेको तान्जेनियाले यसपटक युगान्डा, नाइजेरिया, नामिबिया र केन्यामाथि निर्णायक जित हात पारेको थियो । शनिबार सिएरा लियोनमाथि भएको अन्तिम जितले उनीहरूको विश्वकप यात्रालाई मुर्तरूप दियो ।
युनिभर्सिटी अफ लागोस ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको तान्जेनियाले ४९.४ ओभरमा १७९ रन बनाएको थियो । कप्तान लक्ष बक्रानियाले अर्धशतक बनाउँदै अगुस्तिनो मेया म्वामेलेसँग ९३ रनको साझेदारी गरे । सिएरा लियोनका जर्ज सेसेले ३ विकेट र ड्यानियल लासायोले ४ विकेट लिए पनि तान्जेनियाले बलियो स्कोर बनायो ।
बलिङतर्फ पनि तान्जेनियाले शानदार प्रदर्शन गर्दै सुरुवातमै दुई विकेट लिँदै विपक्षी टोलीको मनोबल घटायो । बक्रानियाले पहिलो ओभरमै दुई विकेट लिए भने स्पिनर हम्जा अल्ली ओनाईले २४ रनमा ५ विकेट लिए । सिएरा लियोन २७औं ओभरमा ८१ रनमै समेटियो ।
इतिहास रचेपछि कप्तान बक्रानियाले भने, “शब्द नै छैन, हामी विश्वकपको लागि छनोट भएकोमा विश्वासै लागिरहेको छैन । यो तान्जेनियाका लागि गौरवको क्षण हो । टोलीको मेहनत, क्रिकेट संघको समर्थन र समर्पणले आज हामी यहाँ आइपुगेका हौं। अब विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछौं ।”
विश्वकप २०२६ मा १६ टोली सहभागी हुनेछन् । तीमध्ये १० वटा टोलीहरू (अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्याण्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज) २०२४ को प्रदर्शनका आधारमा सिधै छनोट भएका छन् । आयोजक देश जिम्बाब्वेले पनि सिधै स्थान सुरक्षित गरिसकेको छ ।
तान्जेनिया अब पाँच क्षेत्रीय छनोटमार्फत स्थान पाउने टोलीमध्ये पहिलो हो । बाँकी चार क्षेत्र (एशिया, युरोप, पूर्वी एशिया-प्रशान्त र अमेरिका) बाट एक-एक टोली छनोट हुनेछ ।
