नापोलीले घरेलु मैदान स्टाडियो डिएगो आर्मान्डो म्याराडोनामा एम्पोलीलाई ३–० ले पराजित गर्दै सिरी ए को उपाधि दौडमा आफूलाई कायम राखेको छ।

यो जितसँगै नापोली लिगको शीर्ष स्थानमा रहेको इन्टर मिलानभन्दा मात्र तीन अंकले पछि परेको छ। खेलको सुरुवातदेखि नै दबाब बनाएको नापोलीका लागि पहिलो गोल स्कट म्याकटोमिनेले १८ औं मिनेटमा गरे, जहाँ उनले रोमेलु लुकाकुबाट पास पाउँदै दूरीबाट शक्तिशाली प्रहार गरे।

दोस्रो हाफमा लुकाकुले म्याकटोमिनेलाई सहायता फर्काउँदै ५६ औं मिनेटमा नापोलीका लागि दोस्रो गोल गरे। त्यसको पाँच मिनेटमै लुकाकुको क्रसमा म्याकटोमिनेले हेड गर्दै व्यक्तिगत दोस्रो गोल गरे र खेलमा आफ्नो प्रभावशाली प्रदर्शन पुरा गरे।

म्याकटोमिनेको यो सिजन हालसम्मकै सबैभन्दा उत्कृष्ट बनेको छ। उनले लिगमा ८ गोल गरिसकेका छन्, जुन संख्याले म्यानचेस्टर युनाइटेडका हालका कुनै पनि खेलाडीको प्रदर्शनलाई उछिनेको छ।

तर जितसँगै नापोलीलाई एउटा धक्का पनि लागेको छ। डिफेन्डर हुआन जेसस ह्यामस्ट्रिङको चोटका कारण खेलमैदानबाट बाहिरिए, जुन सिजनको निर्णायक चरणमा टोलीका लागि समस्या बन्न सक्छ।

अब नापोलीले बाँकी ६ खेलहरू लिगको तल्लो स्थानमा रहेका टोलीहरूसँग खेल्नेछ, जसमा अन्तिम स्थानमा रहेको मोन्जासँगको खेल पनि समावेश छ। यदि हालको लय कायम राख्न सके, भने नापोली अझै पनि सिरी ए को उपाधि जित्ने बलियो दाबेदार रहन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *