सिमरा । हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा सोमबार साँझ भएको खेलमा फ्रेण्डस क्लबलाई १-० गोलले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ ।
हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि अब बुधबार आयोजक नवजनजागृति युवा क्लबसँगको भेट पक्का गरेको छ । मङ्गलबार साँझ हुने पहिलो सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरको सामना गर्नेछ ।
हिमालयन शेर्पाको जितमा खेलको नवौं मिनेटमा भारतीय खेलाडी रोबर्ट खोङजोले गरेको गोलनै निर्णायक बन्यो । विनु आलेमगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेण्ड्सका गोलरक्षक विकेश कुथु सम्हालिन नपाउँदै रिवाउण्ड बलमा पुनः रोवर्टले गोल गरेका थिए ।
उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेण्ड्स फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीयो । खेलको छैटौं मिनटमा फ्रेण्ड्सका विशाल ठकुरीले वन भर्सेस वनको स्थिती गुमाए । लक्ष्मण रुचालको पासमा विशालले अघि बढाएको बल डिबक्स भित्रैबाट प्रहार गरेका थिए । उनको प्रहार फितलो बन्दा हिमालयन शेर्पाका गोलरक्षक विवश चौधरीले छेक्ने मौका पाए ।
खेलको ४४औं मिनटमा शुसील लामाको अर्को प्रहार विफल भयो । डिबक्स भित्रबाट शुसीलले हानेको सशक्त प्रहार हिमालयन शेर्पाका गोलरक्षकले बचाउ गरे । हिमालयन शेर्पाका मानबहादुर रानाको मिसपासको फाइदा उठाउँदै शुसीलले आकर्षक अवसर सिर्जना गरेका थिए ।
खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच हिमालयन शेर्पाका रोबर्ट खोङजो घोषित भए । उनले १० हजार नगद र ट्रफि प्राप्त गरे । उनलाई आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डे र ग्रीन इनर्जीका सञ्चालक स्वीकार ढकालले पुरस्कार प्रदान गरेका थिए ।
