अहमद हिजाजीले ह्याट्रिक गरेपछि काठमाडौं रेजर्सविरुद्ध ३-१ को पुनरागमन जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हिजाजीले पहिलो हाफमा दश मिनेट अन्तरमा ह्याट्रिक गरेपछि धनगढीले पुनरागमन गर्दै ३ अंक जोडेको हो ।
जितसँगै ४ खेलमा ८ अंक जोडेको धनगढी समान अंक भए पनि गोल अन्तरमा ललितपुर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित काठमाडौं ५ खेलबाट ५ अंकका साथ चौथो स्थानमा छ ।
खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । खेलको २२औं मिनेटमा अमौडो डियोपको गोलमार्फत काठमाडौंले अग्रता लिएको थियो । ३५औं मिनेटमा हिजाजीले धनगढीका लागि बराबरीमा गोल फर्काए ।
खेलको ४१औं मिनेटमा हिजाजीले ब्यक्तिगत दोस्रो गोल गर्दा धनगढी २-१ ले अघि बढ्यो । हिजाजी यतिमै रोकिएनन् । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै धनगढीलाई ३–१ को अवस्थामा पुर्याए ।जारी एनएसएलमा ह्याट्रिक गर्ने हिजाजी पहिलो खेलाडी बने ।
दुवै टोली ८६औं मिनेटमा १० खोलडीमा समेटिए । एकअर्कासँग झगडा गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले धनगढीका रक्षक रनदीप पौडेललाई दोहारो पहेंलोसहित रातो तथा काठमाडौंका फरवार्ड भिसेन्ट कोजिएलोलाई सिधै रातो कार्ड देखाएका थिए ।
त्यसपछि कुनै गोल नहुँदा धनगढीले खेल ३–१ ले जित्यो ।
