इण्डियन प्रिमियर लिग (आईपिएल) मा शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले छैटौं जित निकालेको छ ।
सोमबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले छैटौं जित निकालेको हो । गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।यसैगरी अंगक्रिस रघुवंशीले अविजित २७, आन्द्रे रसेलले २१, रिन्कु सिंहले १७ र सुनील नारायणले १४ रनको योगदान दिए ।
गुजरातका लागि प्रसिद्ध कृष्णा र रसिद खानले समान २ विकेट लिए ।
त्यसअघि इर्डन गार्डेन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा २० ओभरमा २ विकेट गुमाएर १९८ रनको योगफल तयार पारेको थियो ।
गुजरातका लागि कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । उनले ५५ बलमा १० चौका र ३ छक्का प्रहार गरे । यसैगरी साई सुदर्शनले ५२ र जोश बटलरले अविजित ४१ रनको योगदान दिए ।
कोलकाताका लागि वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलको समान एक विकेट लिए ।
जितसँगै शीर्षस्थानमा रहेको गुजरातले आठ खेलबाट १२ अंक जोडेको छ । पाँचौं हार ब्यहोरेको कोलकाताको भने समान खेलबाट ६ अंकका साथ सातौं स्थानमा छ ।
