नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

खेलको इन्जुरी समयमा गीता रानाले हेडमार्फत गरेको गोलले एपिएफलाई विजयी बनाएको हो । आठ टोली सहभागी प्रतियोगितामा एपिएफले उपाधिसहित ५ लाख ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल हात पार्यो ।

एपिएफले यसअघि इलाम गोल्डकप र चितवन गोल्डकप जितेको थियो, जसले गर्दा यो एपिएफको लगातार तेस्रो मोफसल उपाधि हो । राष्ट्रिय टोलीका करिब एक दर्जन खेलाडी सहभागी एपिएफ यसअघि महिला लिगको उपाधिसमेत जितिसकेको छ ।

प्रतियोगितामा एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६-० ले र सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३-० ले हराएको थियो । उता, नेपाल पुलिसले भारतको सिलिगुडी एफसीलाई ४-० ले तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ ले पराजित गरेको थियो ।

आजको फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो । विजेता टिम एपिएफकी प्रशिक्षक भगवती थापाले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बताउँदै नेपाल पुलिस क्लबबाट कडा चुनौती पाएको स्वीकारिन् । घरेलु मैदानमा खेल्दै नेपाल पुलिसकी कप्तान निरु थापाको उपाधि जित्ने सपना भने अधुरो रह्यो, यद्यपि उनले उपविजेता बन्न पाउँदा खुशी व्यक्त गरिन् ।

प्रतियोगिताको आयोजना अन्तरालले गरेको हो भने बाँके जिल्ला फुटबल संघ सह-आयोजक थियो । सहभागी टिमहरूमा बाँके-११, एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, रौतहट जिल्ला र भारतको सिलिगुडी एफसी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *