इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध २-० ले पछि परेको खेलमा ऐतिहासिक पुनरागमन गर्दै ५-२ को शानदार जित निकालेको छ ।
एतिहाद स्टेडियममा भएको खेलमा सिटीका कप्तान केभिन डे ब्रुइनले अद्भुत प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन निर्णायक भूमिका खेले ।
खेलको सुरुवातमा प्यालेस आक्रामक देखिएको थियो । आठौं मिनेटमा इबेरेची एजेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । त्यसको १३ मिनेटपछि रिचार्ड्सले कार्नरबाट गोल गर्दै स्कोर २-० बनाए । प्यालेसले तेस्रो गोल पनि गरेको थियो, तर एजेको गोल अफसाइडका कारण अस्वीकृत भयो । यही निर्णय खेलको मोड बन्यो ।
३१औं मिनेटमा डे बुइनले उत्कृष्ट फ्रिकिक मार्फत एक गोल फर्काए भने तीन मिनेटमै मर्मुशले बराबरी गोल गरे । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै कोभासिचले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि खेलमा सिटीको एकछत्र दबदबा रह्यो ।
५४औं मिनेटमा गोलकिपर एडरसनको चमत्कारीक पासबाट म्काटीले चौथो गोल गरे । एडरसनको यो सिजनको चौथो एसिस्ट हो । अन्तिमतिर ओ’रेलीले गोल गर्दै सिटीको जितलाई ५-२ मा परिणत गरे ।
यो जितसँगै सिटी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।
