कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार बिहान भएको दोस्रो लेगको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाएर मियामीले लस एन्जलस फुटबल क्लबमाथि ३-१ को पुनरागमन जित हात पारेको हो ।

समग्रमा मियामी ४-१ ले विजयी भएको हो । पहिलो लेगमा मियामी १-० ले पराजित भएको थियो । मियामीको जितमा मेस्सीले दुई गोल गर्दा नोआ एलनले एक गोल गरे । लस एन्जलसका लागि आरोन लङ्गले गोल गरे ।

मियामीको घरेलु मैदानमा भएको खेलमा लङ्गले नवौं मिनेटमा लस एन्जलसलाई पहिले अग्रता दिलाएका थिए । ३५औं मिनेटमा मेस्सीले मियामीलाई बराबरीमा ल्याए ।

६१औं मिनेटमा एलनले गोल गर्दै मियामीलाई २-१ को अग्रता दिलाए । त्यसपछि निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा मेस्सीले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को पुनरागमन जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *