केभिन डी ब्रुयनाले यस सिजनको अन्त्यसँगै म्यानचेस्टर सिटी छोड्ने घोषणा गरेका छन् ।
३४ बर्षिय मिडफिल्डर ब्रुयनाले शुक्रबार सिटीका फ्यानहरुलाई सम्बोधन गर्दै यस सिजनको अन्त्यसँगै आफुले क्लब छोड्ने जानकारी दिएका हुन् ।
म्यानचेस्टर सिटीमा ब्रुयनाको सम्झौता यसै जुनमा सकिन लागेकाले उनले फ्री-ट्रान्सफरमै क्लब छोड्न लागेका हुन् । उनले सिटीमा आफ्नो सम्झौता नविनाकरण नगर्ने निर्णय गरेसँगै यसको जानकारी दिएका छन् ।
ब्रुयनाले फ्यानहरुलाई सम्बोधन गर्दै यो निर्णय आफ्ना लागि सजिलो नभएको उल्लेख गरेका छन् । सिटी आफ्ना लागि सधै आफ्नो घर रहने उल्लेख गर्दै ब्रुनेले सिटीमा आएर आफुले आफ्नो सपना पुरा गरेको बताएका छन् ।
ब्रुयना प्रिमियर लिगको इतिहासमा सबै भन्दा गोल असिस्ट गर्ने दोस्रो खेलाडी हुन् । उनले ११८ गोल असिस्ट गरेका छन् । शिर्ष स्थानमा म्यानचेस्टर युनाइटेडका रायन गिग्स १६२ गोल असिस्टसहित शिर्ष स्थानमा छन् ।
सिटीमा १० सिजन खेलेका ब्रुयनाले ४१३ खेलमा १०६ गोल गरेका छन् भने ११८ गोल असिस्ट गरेका छन् । सिटीमा ब्रुयनाले ६ प्रिमियर लिग, एक च्याम्पियन्स लिग, ५ इएफएल कप, २ एफए कप र २ कम्युनिटी शिल्ड कप जितेका छन् ।
ब्रुयना आगामी सिजनमा साउदी प्रो लिग वा अमेरिकन लिग सकरमा जान सक्ने बताइएको छ ।
