एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफमा पुगेको छ ।
बिहिवार साँझ दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा धनगढी एफसीलाई ३ -१ ले हराउँदै चितवन प्लेअफमा पुगेको हो । चितवन पहिलो पटक एनएसएलको प्ले अफमा पुगेको हो ।
योसँगै प्ले अफ पुग्ने चार टिमको टुङ्गो लागेको छ । पहिलो क्वालिफायरमा गत संस्करणको दुई फाइनलिष्ट ललितपुर र धनगढी भिड्ने तय यसअघि नै भैसकेको छ । एफसी चितवन र पोखरा थन्डर्सले पहिलो इलिमिनेटर खेल्ने समिकरण तय भएको छ ।
धनगढीलाई आजको नतिजाले कुनै असर नगर्ने भएकोले उसले आज ८ खेलाडी प्लेइङ इलेभेनमा परिवर्तन गरेको थियो । तर चितवनलाई कम्तिमा बराबरी नतिजा जरूरी थियो । यी दुई बीचको प्रतिस्पर्धा चलिरहँदा काठमाडौं रेजर्स भने चितवनको हारको पर्खाईमा थियो । जुन हुन सकेन् ।
खेलमा एक गोलले पछि परेको स्थिती उल्टाउदै चितवनले पुनरागमन जित हात पारेको हो । चितवनका लागि नोदिर माभलानोभ र जय गुरुङले समान १ गोल गरे भने धनगढीका अमृत श्रेष्ठले आत्मघाती गोल उपहार दिए । धनगढीका लागि जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।
जर्ज प्रिन्सले खेलको सातौं मिनेटमै करिब ३५ यार्डबाट सुन्दर गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकने । चितवनका लागि १४औं मिनेटमा कार्यवाहक कप्तान नोदिरले पर्नाल्टीमार्फत बराबरी गोल फर्काए । नियमित कप्तान अन्जन श्रेष्ठ बेन्चमा हुँदा नोदिरले कप्तानी गरेका हुन् ।
यस्तै जय गुरुङले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि चितवनले २-१ को अग्रता बनायो । छिरिङ गुरुङले दायाँ भागबाट दिएको क्रसमा भिक्टोर मानसराले छाडेको बलमा जयले गोल गरेका हुन् ।
धनगढीले दोस्रो रोजाईँको टिम मैदान उतार्दा त्यसको भरपुर फाइदा चितवनले उठायो । दोस्रो हाफमा पनि चितवनले गोल थप्यो । ५०औं मिनेटमा धनगढीका अमृतले आत्मघाती गोल उपहार दिए । चितवनका भिक्टोर मानसारेले दायाँ भागबाट हानेको क्रसलाई क्लियर गर्ने क्रममा अमृतले आफ्नै पोष्टमा गोल हानेका हुन् ।
चितवन ३ जित १ बराबरी र २ हार सहित १० अंक बनाएर तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पहिलो संस्करणमा चितवन लिगको पुछारमा रहेको थियो । गत सिजन नौ टिम सहभागी हुँदा सातौं भएको थियो ।
साबिक विजेता ललितपुर अपराजित रहँदै १२ अंकका साथ शीर्षस्थानमा रहयो । धनगढीले ११ अंकमा दोस्रो स्थानमा लिग पुरा गर्यो। चौथो भएको पोखरा ८ अंक बनायो ।
काठमाडौंले पोखराले जतिकै ८ अंक बनाएपनि पोखरासँग गोल अन्तरले पछि पर्दै बाहिरियो । झापाले ५ अंक र बुटवल लुम्बिनीले १ अंक सहित तेस्रो संस्करण पुरा गरे ।
शनिबार ललितपुर र धनगढीबीच पहिलो खेल हुनेछ । पहिलो इलिमिनेटर भने आइतबार हुनेछ । जहाँ पोखरा र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
