फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन् ।
स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ । दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए ।
पहिलो पटक २०२२ मा यी दुईजनालाई ठगीको आरोपबाट सफाइ दिइएको थियो । तर स्विजरल्याण्डका संघीय अभियोजनकर्ताहरूले त्यो फैसलाविरुद्ध पुनरावेदन गरेका थिए ।
यो मुद्दा २०१५ बाट सुरु भएको हो । जब फिफा ठगी र भ्रष्टाचारको आरोपमा फस्न पुग्यो । यसले जुरिचमा नाटकीय छापामारी पनि भयो । एक फरक अमेरिकी अनुसन्धानबाट त्यो घटना क्रम सुरु भएको थियो ।
त्यसलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो घोटाला मानिएको थियो । त्यो घटनाले ब्लाटरलाई राजीनामा दिन बाध्य पारेको थियो । त्यहि क्रममा प्लाटिनीको फिफाको अध्यक्ष बन्ने आशा पनि समाप्त भएको थियो ।
स्विस अभियोजनकर्ताहरूले त्यसपछि ८९ वर्षीय ब्लाटर र ६९ वर्षीय प्लाटिनीलाई फिफालाई ठगेको आरोप लगाउँदै कागजात किर्ते र ठगीको आरोप लगाएका थिए । उनीहरूले सो भुक्तानीको कुनै कानुनी आधार नभएको बताएका थिए ।
तर ब्लाटर र प्लाटिनी दुवैले उक्त रकम फिफाका लागि प्लाटिनीले परामर्शदाताको रुपमा गरेको कामको ढिलो गरिएको भुक्तानी भएको दाबी गरेका थिए । प्लाटिनीले यसअघि युरोपेली फुटबल महासंघ (युइएफए) का पूर्व अध्यक्ष हुन् ।
पहिलो मुद्दाको सुनुवाइमा ब्लाटरले १९९८ मा प्लाटिनीलाई आफ्नो सल्लाहकारको रूपमा काम गर्न अनुरोध गरेको बताएका थिए । त्यतिबेला फिफाले प्लाटिनीले माग गरेको वार्षिक १० लाख स्विस फ्याङ्क भुक्तानी गर्न नसक्ने भएकाले वार्षिक ३ लाख फ्याङ्क भुक्तानी गर्ने सहमति भएको थियो । बाँकी रकम भुक्तानी गर्ने त्यो सर्तमा रहेको बताइएको छ ।
स्विजरल्याण्डको संघीय फौजदारी अदालत बेलिन्जोनाले यो तर्क स्वीकार गर्दै भुक्तानी ‘जेन्टलमेनको सम्झौता’ अनुसार भएको निष्कर्ष निकालेको थियो । संघीय अभियोजनकर्ताहरूले पुनः अपील गरेपछि नयाँ सुनुवाइ भएको हो ।
फैसलापछि ब्लाटरले भने, ‘अन्ततः अदालतले न्याय दिएको छ । मेरो , परिवार र साथीहरूको लागि यो ठूलो खुसीको कुरा हो । म अहिले अत्यन्तै भावुक छु ।’
प्लाटिनीले भने, ‘मेरो पीडा अहिले पूर्ण रूपमा समाप्त भयो । आज मेरो इज्जत फर्किएको छ । अत्यन्तै खुसी छु ।’
प्लाटिनीका वकिलले यो फौजदारी कारबाहीको लागि जिम्मेवार व्यक्तिहरूविरुद्ध कानूनी कारबाही गर्ने योजना रहेको बताएका छन् ।
प्लाटिनीको खेलजीवन निकै शानदार थियो । उनी तीन पटक बालोन डी’ओर जित्ने खेलाडी हुन् । उनले फ्रान्सलाई १९८४ को युरोपेली च्याम्पियनसिप जिताएका थिए ।
१९८५ मा युभेन्टसबाट युरोपियन कप जितेका थिए। उनी पछि फ्रान्सको राष्ट्रिय टोलीका प्रशिक्षक भए । २००७ देखि २०१५ सम्म उनी युइएफएको अध्यक्ष थिए।
स्विस व्यवसायी एवम् खेल प्रशासक ब्लाटर १९७५ मा फिफामा सामेल भएका थिए । उनी १९८१ मा फिफाका महासचिव र १९९८ मा अध्यक्ष बनेका थिए ।
