चर्च ब्वाइज युनाइटेड क्लब ललितपुरले २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।
खेलको १९औं मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा राज भुसालले अर्को गोल गरेर जित पक्का गरेका थिए ।
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको पनि उपाधि विजेता हो ।
चर्च ब्वाइज र एपिएफको भेट यही सिजनको दोस्रो हो। यसअघि बागमती गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणमा चर्च ब्वाइजले एपिएफलाई सेमिफाइनलमा पराजित गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेता चर्च ब्वाइजले १२ लाख १२ हजार २ सय २२ रुपैयाँ र उपविजेता एपीएफले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
फाइनलमा चर्च ब्वाइजका राजु भुसाल प्लेयर अफ दी म्याच घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै विधागततर्फ उत्कृष्ट गोलकिपर चर्च व्वाइजका विशाल चौधरी, उत्कृष्ट डिफेन्डर एपीएफका मानबहादुर राना, उत्कृष्ट मिडफिल्डर एपीएफका सामुयल सुनार, उत्कृष्ट फरवार्ड चर्च व्वाइजका रिचर्ड विलसन र उत्कृष्ट कोच चर्च व्वाइजका आशषिक थापा मगर भए । उत्कृष्ट हुने सबैले जनही ३१-३१ हजार र ट्रफी हात पारेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च व्याइजका अमन लामा भएका छन् । उनले एक थान स्कुटरसहित ट्रफी हात पारे ।
जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगितामा दुई विभागीय र भारतका दुई सहित ८ टिमले भाग लिएका थिए ।
