नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बुटवल लुम्बिनी फुटबल क्लबले डिफेण्डर नाथान माभिलालाई अनुबन्ध गरेको छ ।
बुटवल लुम्बिनीले मंगलबार विज्ञप्ती जारी गर्दै माभिलालाई अनुबन्ध गरेको जनाएको हो । २९ वर्षीय माभिलासँग इङ्लिस क्लब वेस्ट ह्याम युनाइटेडको युवा टोलीबाट खेलेको अनुभव छ ।
यस्तै सन् २०१४ देखि २०१६ सम्म वेस्टह्यामको सिनियर टोलीको हिस्सा रहे पनि माभिलाले डेब्यू गर्ने अवसर भने पाएनन् । यसैगरी उनले स्विडेन र जोर्डनको लिग पनि खेलिसकेका छन् । पछिल्लो समय उनी इङ्ल्यान्डको एएफसी क्रोइडन एथलेटिकमा आबद्ध थिए ।
बुटवल लुम्बिनीमा अनुबन्ध हुने माभिला दोस्रो विदेशी खेलाडी हुन् । क्लबले यसअघि नाइजेरियाका इजेकेल ओजिदीझा तमारालाई अनुबन्ध गरिसकेको छ ।
राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई मार्की बनाएको बुटवलले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ ।
