विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा भएको प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।
आज (बुधबार) सम्पन्न फाइनल खेलमा विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरि उपाधि जितेको हो ।
अरनिकोले माघमा १५ गते विरनगरमा सम्पन्न भएको मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई नै पराजित गरि उपाधि जितेको थियो ।
विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रनको स्कोर बनाएको थियो ।
अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिए । ग्रिनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनिल यादव र गौरी शंकर यादवले २-२ विकेट लिए ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले निर्धारित १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाई ७९ रनमा सिमित भयो । ग्रिनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनिल यादवले १३ रनको योगदान दिए । अरनिकोका रामनारायण यादवले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए ।
फाइनल खेलमा प्लेयर अफ फाइनल अरनिकोका नुमिर अहमल घोषित भए भने प्लेयर अफ टुर्नामेन्ट ग्रिनल्याण्डका गणेश यादव भए । त्यस्तै उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताउ साह घोषित हुँदा उत्कृष्ट बलर अरनिकाकै अमर यादव घोषित भए ।
फागुन २६ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरि ६ टिम सहभागि रहेको थियो । विजयी तथा खेलाडीहरुलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खडका र हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्तलगायतले ट्रफि तथा प्रमाण पत्र वितरण गरे ।
