नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।
ग्रेडिङअनुसार पुरुषतर्फ पाँच खेलाडी ग्रेड ‘ए’ मा परेका छन् । यसपालि ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख रहेका छन् ।
गत वर्ष ग्रेड ‘ए’ मा परेका कुशल भुर्तेल र करण केसी भने यसपटक ग्रेड ‘बी’ मा झरेका छन् । ग्रेड ‘बी’ मा उनीहरुसहित गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह रहेका छन् ।
यस्तै, गत वर्ष ग्रेड ‘बी’ मा रहेका भीम सार्की, आरिफ शेख र कुशल मल्ल ग्रेड ‘सी’ मा घटुवा भएका छन् । यसपालि ग्रेड ‘सी’ मा उनीहरूसहित सन्दीप जोरा रहेका छन् ।
यस्तै, गत वर्ष ग्रेड ‘बी’ मा रहेका अविनाश बोहरा ग्रेड ‘सी’ मा झरेका छन् । ग्रेड ‘सी’ मा उनीसहित सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तमाङ, रिजन ढकाल, देव खनाल, प्रतिश जिसी, बसिर अहमद र मयन यादव रहेका छन् ।
त्यस्तै, यसपालि इमर्जिङ क्याटागोरीमा सातै प्रदेशका १-१ जना छन् । इमर्जिङमा चार प्रदेशका खेलाडी पहिलेकै छन् भने तीन प्रदेशका खेलाडी परिवर्तन भएको छ । तीनमध्ये लुम्बिनीको देव खनाल र बागमतीको रिजन ढकाल ग्रेड ‘सी’ मा बढुवा भएका छन् ।
बागमतीमा शुभ कंसाकार र लुम्बिनीमा सन्तोष यादव नयाँ छन् । गण्डकीमा यसअघि विपिन खत्री थिए भने अहिले अर्जुन कुमाल रहेका छन् । कोशीबाट दिपेश कँडेल, मधेशबाट रुपेश सिंह, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्त धामी इमर्जिङ क्याटेगोरीमा यथावत रहेका छन् ।
गत वर्ष ग्रेड ‘सी’ मा रहेका विनोद भण्डारी र अर्जुन साउदलाई भने यसपालि कुनै पनि ग्रेडमा राखिएको छैन । यस्तै, गत वर्ष ग्रेड ‘डी’ मा रहेका पवन सर्राफ र इमर्जिङ क्याटागोरीमा रहेका विपिन खत्रीलाई पनि सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिर राखिएको छ ।
क्यानका अनुसार यसपालि पनि ग्रेड ‘ए’ का खेलाडीले १ लाख, ग्रेड ‘बी’ ले ७० हजार, ग्रेड ‘सी’ काले ५५ हजार, ग्रेड ‘डी’ काले ३५ हजार तथा इमिर्जिङ क्याटगोरीका खेलाडीले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।
ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुनेछ र त्यसपछि फेरि मुल्यांकन गरिने क्यानले जनाएको छ ।
