इंग्लिस प्रिमियर लिग लिडर लिभरपुलले शीर्ष स्थानमा १६ अंकको अग्रता बनाएको छ ।

शनिबार राति भएको खेलमा साउथह्यम्पटनमाथि ३-१ को पुनरागमन जित निकाल्दै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग १६ अंकको अग्रता बनाएको हो ।

२९ खेलबाट लिभरपुलले ७० अंक जोडेको छ । दुई खेल कम खेलेको आर्सनलको ५४ अंक छ ।

एन्फिल्डमा साउथह्यम्पटनलाई पराजित गर्दा मोहम्मद सलाहले दुई तथा डार्विन नुनेज एक गोल गरे । साउथह्यम्पटनका विल स्मलबाेनले एक गाेल फर्काए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा स्मलबोनले गोल गर्दै साउथह्याम्प्टनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछाडि परेपनि लिभरपुलले दोस्रो हाफमा पुनरागमन गरेको हो ।

५१औं मिनेटमा नुनेजले गोल गर्दै खेल बराबरिमा ल्याए । ५४औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ८८औं मिनेटमा सालाहले फेरि पेनाल्टीमा गोल गर्दै लिभरपुलको ३-१ को जित पक्का गरे ।

त्यस्तै शनिबार राति नै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई र एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई समान १–० ले पराजित गरेका छन् । यस्तै ब्राइटनले फुलहामलाई २–१ गोलले पराजित गर्दा वुल्भ्स र एभर्टनले १–१ गोलको बराबरी खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *