भारतले मैत्रीपूर्ण फुटबल खेलमा माल्दिभ्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई ३-० गोलले पराजित गरेको हो ।
जवाहरलाल नेहरु रंगशालामा सम्पन्न खेलमा घरेलु टोली भारतलाई जित दिलाउन राहुल भेके, लिस्टन कोलाको र कप्तान सुनिल क्षेत्रीले गोल गरे ।
खेलको ३४औं मिनेटमा राहुलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा लिस्टनले टोलीको अग्रता दोब्बर बनाए । सुनिलले ७६औं मिनेटमा गोल गर्दै भारतलाई ३-० को सहज जित दिलाए ।
दुवै टोलीले एएफसी एसिया कप छनोटको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् । चैत १२ मा भारतले बंगलादेश र माल्दिभ्सले फिलिपिन्सको सामना गर्नेछन् ।
यो खेल नेपाली फिफा रेफ्री प्रज्वल क्षेत्री र उमेश विडारी तथा सहायक रेफ्री किसनकन्हैया यादव र माधव खत्रीले खेलाएका थिए ।
