धरान एफसीलाई सडेन डेथमा पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौं मेचीनगर गोल्डकपको फाइनलमा पुगेको छ ।

बुधबार काँकरभिट्टा माध्यमिक विधालयको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा धरानलाई सडेन डेथमा ५-४ ले पराजित गर्दै आयोजक काँकरभिट्टा उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेल टाइब्रेकरमा पुग्यो । टाइब्रेकरमा धरान र काँकरभिट्टाले ४–४ गोल गरे । निर्धारित समय र टाइब्रेकरमा समेत खेल बराबरी भएपछि सडन डेथमार्फत विजेताको टुंगो लागेको हो ।

टाइब्रेकरमा धरान मिलन राई, सविन राई, प्रज्वल थापा, अजय विष्टले गोल गर्दा सुरज जिमी र रोमन लिम्बु भने चुके । सुरजको प्रहार बाहिँदा रोमनको प्रहारलाई काँकरभिट्टाका गोलकिपर विश्वास चौधरीले रोेकेका थिए ।

काँकरभिट्टाका हेमन्त लिम्बु, दिवस उराउ, निशान लिम्बु, विवेक गुरुङ र फ्याङकलिन टालाले गोल गरे । अभिषेक गुरुङको प्रहार भने गोलमा परिण हुन सकेन । अभिषेकको प्रहार पोलमा लागेर फर्कियो ।

त्यसअघि खेलको तेस्रो मिनेटमा सुरज रसाईलीको गोलमार्फत धरानले अग्रता लिएको थियो । उनले कप्तान मिलन राईको पासलाई वान टचमै पोस्टको दिशा दिए ।

हेमन्त लिम्बुले ६९औं मिनेटमा काँकरभिट्टालाई बराबरीमा ल्याए । उनले विवेक गुरुङको कर्नरलाई हेडमार्फत जाली चुमाए ।

धरानले ८५औं मिनेटमा गोलका दुई अवसरलाई सुदुपयो गर्न सकेन । सविन राईको प्रहार बारमा लागेर फर्किएको थियो । रिबाउन्डमा सुरजको प्रहार पनि बारमै लागेर बाहिरियो ।

खेलको म्यान अफ दि म्याच काँकरभिट्टाका गोलरक्षक विवस चौधरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । 

अब काँकरभिट्टाले उपधिका लागि बिहीबार हुने चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

काँकरभिट्टाले भारतको जर्जियन एफसीलाई ४-२ तथा धरानले उज्केकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनमा स्थान बनाएका थिए ।

प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *