कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।
फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ ।
युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष डिभिजनमा बसिरहने आशालाई थप कमजोर बनायो ।
होयलुन्डले डिसेम्बरपछि पहिलो पटक कुनै प्रतियोगितामा गोल गर्दै २८औं मिनेटमा युनाइटेडलाई अघि बढाए ।
गार्नाचोले ६७ औं मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो । अन्तिम मिनेटमा फर्नान्डेजले गोल गरेपछि युनाइटेडको जित सहज बन्यो ।
जितसँगै युनाइटेड २९ खेलमा ३७ अंक जोडेर १३औं स्थान उक्लिएको छ । ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लेस्टर १७ अंकका साथ पुछारबाट दोस्रोमा छ ।
