न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ ।
भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ ।
दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो ।
न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ रनमा आउट भए । त्यसपछि तेस्रो क्रमका केन विलियम्सन क्रिजमा जमे ।
तर उनलाई अन्य ब्याटरले साथ दिएनन् । ड्यारिल मिचेल १७ रनमा, टम लाथम १४ रनमा, ग्लेन फिलिप्स १२ रनमा र माइकल ब्रेसवेल २ रनमा आउट भए । यतिखेर न्युजिल्यान्डले ६ विकेटको नोक्सानीमा १ सय ५९ रन बनाएको थियो ।
विलियम्सनले ७७ बलमा अर्धशतक प्रहार गरे । ८१ रन जोडेर उनी अक्षर पटेलको बलमा सातौं विकेटको रुपमा पभेलियन फर्किएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो । यसपछि मिचेल स्यान्टनरले २८ रन बनाए ।
बलिङमा वरूण चक्रवर्तीले १० ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। कुलदिप यादवले २ विकेट झारे ।
त्यसअघि टस जितेर न्युजिल्यान्डले बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो ।
खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो । शुभमन गील २ रनमा, रोहित शर्मा १५ रनमा र करियरको ३०० औं ओडिआई खेलेका विराट कोहली ११ रनमा आउट भए ।
त्यसपछि श्रेयस अयर र अक्षर पटेलले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । अक्षर ४२ रनमा आउट भए । श्रेयसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७९ रन बनाए । यस्तै हार्दिक पाण्ड्याले ४५ र केएल राहुलले २३ रन जोडे ।
बलिङमा म्यान हेनरीले सानदार बलिङ गरे । ८ ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। तर यो उत्कृष्ट बलिङमा पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
यो जितपछि भारतको ६ अंक भयो । न्युजिल्यान्डले ४ अंक जोड्यो । अन्तिम खेल अगाडि नै दुवै टिम सेमिफाइनलमा पुगिसकेका थिए ।
यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई समान ६ विकेटले हराएको थियो । न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले र बङ्गलादेशलाई ५ विकेटले हराएको थियो । यो समूहबाट बङ्गलादेश र पाकिस्तान बाहिरिएका थिए ।
अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा तय गर्दा इङ्ग्ल्यान्ड र अफगानिस्तान समूह चरणबाट अगाडि बढ्न सकेनन् ।
