लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ ।
मंगलबार दाङको लमही क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
एक समय २२ रनमै ६ विकेट गुमाएको गण्डकीका लागि दीपक डुम्रे र सुजन गौतमले साझेदारी बनाउँदै जित दिलाए । दीपक डुम्रेले अविजित ५० रन बनाए । ७८ बल खेलेका उनले सात चौका प्रहार गरे । यसैगरी सुजन गौतम २२ रनमा अविजित रहे ।
कर्णालीका लागि कप्तान दिवान पुनले तीन, दीपेन्द्र रावतले दुई तथा युनिशविक्रम ठकुरीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली २७.२ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।
कर्णालीका लागि विपिन शाहीले सर्वाधिक २० रन बनाए । ५७ बल खेलेका उनले दुई चौका प्रहार गरे । यसैगरी अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए ।
गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी र बिपिन खत्रीले समान २ विकेट तथा सन्दीप पराजुली र अमृत गुरुङले समान एक विकेट लिए ।
जितसँगै गण्डकीलले २ खेलबाट २ अंक जोडेको छ । पहिलो पराजय बेहोरेको कर्णालीको पनि २ खेलबाट समान २ अंक छ । पहिलो खेलमा कर्णालीले सुदूरपश्मि प्रदेशलाई ७९ हराउँदा गण्डकी सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो ।
