नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले जापानी फरवार्ड केन्ता हारालाई अनुबन्ध गरेको छ।
बुटबलले एनएसएलको तेश्रो संस्करणका लागि हारसँग सम्झौता गरेको हो । हारासँग हङकङ, इन्डोनेसिया, मलेसिया, बोस्निया एन्ड हर्जगोभिनिया र जर्मनीका क्लबबाट खेलेको अनुभव छ । उनले पछिल्लो पटक इन्डोनेसियाको लिग २ क्लब पर्सिपा पाटीबाट खेलेका थिए ।
हारा लुम्बिनी भित्रिने चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकिएल ओजिदीझा तमारा, इङ्लिस रक्षक नाथन माभिला र स्कटिस मिडफिल्डर फ्याङ्क रोसलाई भित्र्याएको थियो ।
राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई मार्की बनाएको बुटवलले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ बाट सुरु हुँदैछ । बुटवलले चैत १७ मा झापा एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रतियोगिताको तेश्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसहित बुटवल लुम्बिनी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी चितवन र धनगढी एफसी गरि ७ टोली सहभागि हुँदैछन् ।
गत संस्करणमा खेलेका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसी यस पटक सहभागि हुने छैनन् ।
