२३औं संस्करणको तिलोत्तमा गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र उपविजेता मच्छिन्द्रसहित आठ टोलीले सहभागिता जनाउने भएका छन् ।
आयोजक रुपन्देही जिल्ला फुटबल संघले बिहीबार सहभागी टोलीको टुंगो लगाएको हो । यो संस्करणमा साबिक विजेता मनाङ मर्स्याङ्दी फुटबल क्लब भने हुने छैन ।
यद्यपि, चर्च ब्वाइज र मच्छिन्द्रसँगै एपिएफ, संकटा, नेपाल पुलिस क्लबले सहभागिता जनाउने भएका छन् । आयोजकको एक टिम हुनेछ भने भारतबाट जर्जियन एफसफ र एडोर्न गडवाल स्पोर्टिङले पनि सहभागिता जनाउने पक्का भइसकेको आयोजकले जनाएको छ ।
चैत ९ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही र एपिएफ भिड्ने छन् । समूह ‘ए’ मा यी दुईसहित संकटा र जर्जियन एफसी छन् । अर्को समूहमा चर्च ब्वाइज र मच्छिन्द्रसँगै पुलिस र एडोर्न गडवाल स्पोर्टिङ क्लब छन् ।
प्रतियोगिताको सम्पूर्ण खेल बुटवल ११ स्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेताले भने ६ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाउने छ । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर दिइने आयोजकले जनाएको छ ।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई समान ३१ हजार रुपैयाँ दिइने छ । प्रत्येक खेलको म्यान अफ द म्याचले ११ हजार १११ रुपैयाँ हात पार्नेछ ।
