दाङ । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणि मुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।

घोराहीमा शनिवार भएको फाइनल खेलमा मणि मुकुन्द भलिबल क्लबले न्यु होराइजन स्पोर्ट्स क्लब बुटवललाई ३-१ को सेटले पराजित गरेको हो ।

कडा प्रतिस्पर्धात्मक खेलमा मणि मुकुन्द भलिबल क्लबले २५-१४, २७-२९, २५-१९ र २५-२० को जित निकाल्दै उपाधि हात पारेको हो ।

उपाधिसँगै मणि मुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । उपविजेता बनेको न्यु होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

पहिलो सेट मणि मुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोर्ट्स क्लबले जितेको थियो । त्यसपछि लगातार दुई सेट जित्दै मणि मुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो ।

प्रतियोगितामा रोयल सिस्ने युवा क्लब तेस्रो भएको थियो । प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

विजेतालाई नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदाङ्‌म्बेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । नेपाली काँग्रेस दाङ खुमबहादुर खड्का विकास समाजको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता फागुनको २० गतेदेखि सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *