दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले जितेको छ ।
दमकस्थित हिमालय माध्यमिक विद्यालयको मैदानमा बिहीबार भएको फाइनल खेलमा बागमती महिला टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपिएफ महिला टोलीले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा एपिएफले बागमतीलाई २५-१०, २५-२२ र २५-१८ को सोझो सेटमा हराएको हो ।
विजेता एपिएफले नगद रु.५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बागमतीले नगद रु.३ लाख सहित ट्रफी, मेडल, प्रमाणपत्र सहित ३ लाख प्राप्त गरेको छ ।
फाइनल खेलको प्लेयर अफ दि म्याच एपिएफकी कविता भट्ट घोषित भइन् ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी निरूता ठगुन्ना, उत्कृष्ट सर्भर कविता भट्ट, उत्कृष्ट डिफेन्डर शान्तिकला तामाङ, उत्कृष्ट स्पाइकर सलिना बुढा मगर, उत्कृष्ट ब्लकर सुमित्रा रेग्मी, उत्कृष्ट सेटर जस्ना महतो र उत्कृष्ट कोच महेश चौधरी भए ।
उत्कृष्ट खेलाडी ठगुन्नाले ट्रफी सहित नगद २५ हजार र अन्य विधाका उत्कृष्टहरूले ट्रफी सहित जनही १० हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेता लगायत अन्य उत्कृष्ट खेलाडीलाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतले ट्रफी, मेडल हस्तान्तरण गरेका थिए ।
