विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्लाले जितेको छ ।

आइतबार विराटनगरस्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्लालाई ३ – ० को गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।

खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी रहेको झापा टोलीले खेलको पहिलो हाफमै जेनिफर मगरको गोलको सहायताले खेलमा अग्रता लिएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा पूर्णिमा राई र जेनिफर मगरले एक-एक गोल थप्दै झापाको जित सुनिश्चित गर्नु गरे ।

प्रतियोगिताको फाईनल खेलको ‘वुमन अफ द म्याच ‘झापाकी मनिता तुमुक र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर घोषित भए । प्रतियोगिताभर मगर ६ गोल गर्न सफल भएकी थिइन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर झापाकी सुशीला चौधरी, उत्कृष्ट डिफेन्डर झापाकी नेहा चौधरी, उत्कृष्ट मिडफिलडर झापाकी सिम्रन राई, उत्कृष्ट स्ट्राइकर झापाकी पूर्णिमा राई र उत्कृष्ट प्रशिक्षक झापाका शान्तबहादुर रायमाझी चुनिए ।

उपाधि सहित झापाले ट्रफी, मेडल, प्रमाणपत्र र नगद १ लाख प्राप्त गर्दा उपविजेता पाँचथरले ट्रफी, मेडल, प्रमाणपत्र र नगद ५० हजारमा चित्त बुझाएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभएकी मगरले ट्रफी र नगद २० हजार र अन्य विधाको उत्कृष्टले ट्रफी र जनही नगद १० हजार पुरस्कार प्राप्त गरे ।

फागुन १३ गतेबाट सुरु भएको खेलकुद महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड , पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *