विश्व कप लिग टु अन्तर्गत नेदरल्याण्ड्सले घरेलु टोली नामिबियालाई पराजित गरेको छ ।

नेदरल्याण्ड्सले शुक्रवार नामिबियालाई ५३ रनले पराजित गरेको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको नामिबिया ३० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ३१ रन जोडे । उनले ३९ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे । रुबेन ट्रम्पलम्यानले ३८ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट २५ रन बनाए ।

मलान क्रुजर १२ तथा निकोलस डेभिन ११ रनमा आउट भए । नेदरल्याण्ड्सका लागि जेच लायन र आर्यन दत्तले समान ३, कायल क्लेनले २, टिम भान डर गुक्टेन र कोलिन एकरम्यानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९.१ ओभरमा १ सय ५९ रनमा समेटियो । नेदरल्याण्ड्सका लागि तेजा निदामानिरुले सर्वाधिक ४७ रन जोडे । उनले ५४ बलमा १ चौका र ३ छक्का प्रहार गरिन् । म्याक्स ओ डाउडले ५८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।

विक्रमजित सिंहले ६३ बलमा २ चौका र १ छक्काको सहयोगमा ३७रन जोडे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्लेयर अफ द म्याच नामिबियाका बेर्नाड स्कोट्जेले ४ विकेट लिए । जेजे स्मिथ र कप्तान एरास्मसले समान २, रुबेन ट्रम्पलम्यान र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।

जितसँगै नेदरल्याण्ड्स १४ खेलमा १७ अंकका साथ चौथो स्थानमा छ । नामिबिया १७ खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ तालिकाको पुछारबाट दोस्रोमा छ । अमेरिका १६ खेलमा २२ अंकका साथ शीर्ष स्थानमा छ ।

लिगमा ८ टोलीको सहभागिता रहेको छ । लिगको शीर्ष ४ मा रहने टोली सन् २०२७ को ओडिआई विश्व कपको ग्लोबल छनोटका लागि छानिने छन् । पुछारका ४ टोलीले भने ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *